‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु

काठमाडौं।  फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु भएको छ । विभिन्न हलहरूले शो तोक्दै प्रि–बुकिङ खुलाएका हुन् ।

नेपाली फिल्महरूको भीडबीच पनि यसले सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ । हाल हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायतका फिल्महरू प्रदर्शनरत रहेकाले *‘गुन्यु चोलो : द ड्रेस’*लाई सीमित शो मात्र प्राप्त भएको हो ।

यद्यपि, देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबारका लागि १४ शो छुट्याएको छ । दर्शकको प्रतिक्रिया सकारात्मक रहँदा सो संख्या उल्लेख्य मानिएको छ । दर्शकको चापअनुसार शो थपिने परम्परा रहेको छ ।

ट्रेलर र प्रचार सामग्रीमा नाजिर हुसेनको अभिनयको प्रशंसा भइरहेको छ । यसैले फिल्मलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

भदौ १३ गते (भोलि शुक्रबार)बाट प्रदर्शनमा आउने फिल्मको निर्देशन समुन्द्र भट्टले गरेका हुन् । यसमा पारालैंगिक पात्रको कथा प्रस्तुत गरिएको छ । नाजिर हुसेनले ट्रान्सवुमनको मुख्य भूमिका निर्वाह गरेका छन् । साथै, सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा आधारित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्लेले खरिद गरेको छ । फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य विदेशमै सम्पन्न गरिएको हो । एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा हलिउडकी गायिका लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका हुन् । लिजाले हलिउड फिल्म ‘ग्ल्याडिएटर–२’ मा समेत स्वर दिएकी थिइन्।

नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको सहकार्यमा बनेको यस फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने अनुपम श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् ।

आलोक शुक्लाले छायांकन गरेको यस फिल्ममा लेखु सहयात्रीको गीत समावेश छ । फिल्म अमेरिकाको प्रतिष्ठित ‘पिक्चर फिल्म मार्केट’मा समेत छनोट भएको थियो ।

Leave a Reply