काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ।
साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनले प्रेम र परिवारबीचको संघर्ष सामना गर्नुपरेको देखाइएको छ। रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई रोचक बनाएको छ।
निर्देशक गुरुङले ‘रिमै’मार्फत परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई उजागर गर्ने संकेत गरेका छन्। संवाद, छायांकन र पृष्ठभूमि संगीतले गाउँले परिवेशलाई जीवन्त बनाएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले चर्चा कमाइसकेको यस फिल्मको ट्रेलरले पनि दर्शकको उत्साह बढाएको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ तथा बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ।
यस फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन्। छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेका यस फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको भूमिकामा छन्।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादकको भूमिकामा रहेका छन्।
News Filmy Newsportal / Nepal