काठमाडौं। सहारा फिल्म्सको प्रस्तुति रहने फिल्म ‘कहाँ गयौ तिमी ’ को निर्माण शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा टाइटलसहित घोषणा गरिएको छ।
फिरोज तिमलसेनाले निर्देशन गर्ने यो फिल्म लभस्टोरी जनरामा रहने बताइएको छ। नामले प्रेमकथाको संकेत गरे पनि निर्माण पक्षले विस्तृत विवरण सार्वजनिक गरेको छैन। टाइटल अनाउन्स्मेन्ट पोस्टरमा कालो बादल, एकलासमा रहेको घर र रूखलाई देखाइएको छ, जसले अधुरो मायामाथि आधारित कथावस्तु हुने संकेत गरेको छ।
पोस्टरमा प्रयोग गरिएको कालो र रातो रंगले शंका, प्रेम, आशा, विछोड र मिलनको कथा प्रस्तुत हुने अनुमान गर्न सकिन्छ। फिल्मको कथा जीवन आचार्यले लेख्नेछन् भने संगीत प्रकाश नेपालीको रहनेछ।
फिरोज तिमलसेना टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन्। उनले नेपाल आइडल सिजन–१ मा रियालिटी प्रोड्यूसर र एपिसोड डिरेक्टरको काम गरेका थिए। भ्वाइस अफ नेपालमा फाउन्डर, क्रिएटिभ हेड र चिफ एडीलगायत अनुभव पनि हासिल गरेका उनी अभिनेता र गायकसमेत हुन्। ‘दर्पण छाया–२’ फिल्ममा अभिनय गरेका उनी हाल अमेरिकामा बस्दै आएका छन् र पहिलोपटक फिल्म निर्देशनमा डेब्यु गर्न लागेका छन्।
फिल्ममा को–को कलाकार रहने र निर्माता को हुने भन्ने बारे अहिले खुलाइएको छैन। छायांकन, प्रदर्शन मिति र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक तिमलसेनाले बताएका छन्।
फिल्मको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।”
News Filmy Newsportal / Nepal