‘शिवांशः च्याप्टर १’ को छायांकन सम्पन्न

काठमाडौँ। नेपाली कथानक फिल्म ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायांकनसँगै फिल्मको सुटिङ कार्य समाप्त भएको हो।

फिल्मको अधिकांश छायांकन पोखराको वरपरका क्षेत्रहरूमा गरिएको थियो भने एक गीत मात्र काठमाडौंमा खिचिएको थियो। ३६ दिनमा सुटिङ सकिएको फिल्मको अन्तिम दृश्य पोखराको पामेमा खिचिएको हो।


फिल्म ‘शिवांशः च्याप्टर १’ अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण गरिएको हो। निर्माता अन्जन केसीले कथानक लेखनको जिम्मेवारी समेत सम्हालेका छन्। सह-निर्मातामा शोभा केसी र अनिशा केसी बोगटी छन्।


सन्तोष आत्रेयले निर्देशन गरेको यो फिल्म उनको निर्देशनमा डेब्यु हो। तेज गिरी र बिमला लिम्बुका अतिरिक्त फिल्ममा प्रवीण खतिवडा, रुशा न्यौपाने र विकास जोशीको पनि प्रमुख भूमिका रहेको छ।


फिल्मको संगीत राजनराज शिवाकोटी र न्ह्यु बज्राचार्यले संयोजन गरेका छन्। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् भने स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको छ।

फिल्मको कोरियोग्राफी विक्रम चौहानले, द्वन्द्व निर्देशन मिलन श्रेष्ठले, र छायांकन शरद महतोले गरेका हुन्।


फिल्म ‘शिवांशः च्याप्टर १’ आगामी असोज २४ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ। यस फिल्ममार्फत लभर ब्वाइको छविमा परिचित अभिनेता तेज गिरी पहिलोपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्।