काठमाण्डौँ । आगामी सेप्टेम्बर १३ तारिखमा बेलायतको राजधानी लण्डनमा आयोजना हुन लागेको ‘दोस्रो अन्तराष्ट्रिय नेपाली फिल्म अवार्ड २०२५– मा अभिनेत्री शर्मिला मल्ललाई लाईफटाईम अचिभमेन्ट अवार्डद्धारा सम्मान गरिने भएको छ ।
अवार्डको टप फाइभ नोमिनेशनमा पर्न सफल कलाकाकर्मीहरुलाई प्रमाणपत्र दिन आयोजित कार्यक्रममा आयोजकले यो घोषणा गरेको हो । सानै देखि रेडियो नेपालमा बाल कार्यक्रम गरेर मिडिया क्षेत्रमा प्रवेश गरेकी शर्मिलाले पहिलो पटक खेलेको फिल्म चाँहि कान्छी हो । उक्त फिल्म नेपालमा निजि क्षेत्रले पहिलो पटक बनाएको फिल्म थियो जुन ४१ बर्ष अघि प्रर्दशनमा आएका थियो । दर्जनौ टेलिफिल्म र फिल्महरुमा समेत सक्रिय रहेकी शर्मिलाले पछिल्लो समय खेलेको फिल्म चाँहि रावायण हो । उनले दिवंगत निर्देशक शिव रेग्मीकी भान्जीले बनाएको फिल्म हर्षको सुटिङ हालसालै सकेके छिन ।
१७ विधामा प्रदान गर्न लागिएको ईन्फा अवार्डलाई इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको प्रस्तुतिमा आयोजना गर्न लागिएको हो । अवार्डको जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश वुढाथोकी र करूण थापा छन् । सन् २०२४ को जुन २८ अर्थात् असार १४ गतेबाट रिलिजमा आएका फिल्महरू मध्येबाट जुरीहरुले उत्कृष्ट पाँचको मनोनयन छनोट गरेका थिए ।
कार्यक्रममा पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाइस अवार्ड गरि कुल २६ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड संयोजक मनिष कार्कीले फिल्म क्षेत्रका चर्चित फिल्मीकर्मीहरुको उपस्थितिमा लण्डनमा भव्य रुपमा अवार्ड सम्पन्न हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा दिए ।
लण्डनको ग्रिनफोर्ड हलमा आयोजना हुने अवार्डको युके कमिटीमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त छन् । यस्तै, नेपाल तर्फबाट भने सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की छन् । कार्यक्रममा जुरी संयोजक गौरी मल्लले नोमिनेशन हेर्दा धेरै फिल्म र कलाकारहरुको नाम नदेख्दा दर्शक र मिडियाबाट प्रश्न आउने भएको हुँदा उनले स्पष्ट पार्दै भनेकि छिन कतिपय फिल्महरु अवार्डमा सहभागी हुन नआएका कारण यस्तो नतिजा देखिएको हो ।