काठमाडौं, जेठ २३ – गायक अशोक दर्जी मुख्य भूमिकामा देखिने फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा तयार भएको फिल्मको अन्तिम दृश्य प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्ट सीन खिच्दै इन्डकल्याप गरिएको हो।
ईन्डक्ल्यापको दृश्य कैद हुँदा करिब ७ सय विद्यार्थीहरुलाई टंकले सेटमा उपस्थित गराएका थिए । यो दृश्य फिल्मको सवै भन्दा महत्वपूर्ण दृश्य रहेका कारण उनले ७ सय विद्यार्थीहरुलाई सेटमा उपस्थित गराएको बताएका छन । फिल्मको छायांकन २८ दिनसम्म काठमाडौं, पोखरा र मुस्ताङमा भएको थियो । सामाजिक विषयमा आधारित यो फिल्म तिहार लक्षित गर्दै रिलिज गर्ने तयारी भए पनि मिति भने तोकिएको छैन।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी , प्रियंका झा, आर्यन नेपाल, विजय डंगोल लगायतको अभिनय रहेको छ।
फिल्मको कथा टंक बुढाथोकी स्वयमले लेखेका हुन् भने संवाद र पटकथा शिवम अधिकारीले तयार पारेका हुन्। विष्णु माया मैनाली निर्माता रहेको फिल्ममा सपना शर्मा कार्यकारी निर्माता छन्। फिल्म लाई सौरभ लामा र नवराज उप्रेतीले छायांकन गरेका हुन । गीतको कोरियोग्राफी चाँहि कविराज गहतराज र रामजी लामिछानेले गरेका छन । गायक अशोक दर्जीको जीवन बदल्ने पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट प्रेरित भएर संगीतकार टंकले यो फिल्म बनाएका हुन ।
हाल कक्षा ९ मा अध्ययनरत अशोक दर्जी आज भन्दा ९ बर्ष अघि झापाको सडकमा गीत गाउँदै गरेको अवस्थामा भाइरल भएपछि गायक टंक बुढाथोकीले उनलाई काठमाण्डौँ ल्याएर संरक्षण गरेका थिए जो यतिखेर टंककै छोराहरुका साथ काठमाडौंको एक स्कूलको होस्टेलमा बसेर पढिरहेका छन ।
यो अवधिमा टंकले अशोकको परिवारलाई निरन्तर आर्थिक सहयोग पनि गरिरहेका छन भने अशोकको परिवारका लागि झापामा घर पनि बनाईदिएका छन । अशोकको गायनकलालाई मर्न नदिन बेलाखबत अशोकको गीत पनि बनाईरहेका टंकले आज भन्दा ८ बर्ष अघि अशोकका साथमा मन विनाको धन ठूलो… भन्ने गीत निकालेपछि उक्त गीत निकै लोकप्रिय बनेको थियो । फलस्वरुप टंकले उक्त गीतको मुख्य लाईनलाई तानेर यो फिल्म बनाएका हुन जहाँ अशोक दर्जी प्रमुख भूमिकामा देखिएका छन ।
News Filmy Newsportal / Nepal


