ट्रेलरको चर्चाले महाभोजको ओभरसिज डमान्ड बढ्यो

काठमाण्डौँ । हाल नेपालमा ग्रस्त रहेको सहकारीको बिषय उठान गरिएको फिल्म महाभोजको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले फिल्मको ओभरिसज डिमान्ड बढेको निर्माण पक्षले दावी गरेको छ ।

निर्माता हिमाल कडरियाका अनुसार मध्यपूर्वका केही देश सहित जापान र अष्ट्रेलिया रिलिजका लागि सम्झौता भईसकेको अवस्थामा यूके र कोरियामा पनि फिल्म सोल्ड आउट भएको छ ।
यसैगरी अन्य एक दर्जन देशको रिलिजको लागि पनि विभिन्न प्रस्ताव आएको निर्माता कडरियाले जानकारी दिएका छन । निर्माता कडरियाका अनुसार अमेरिका, क्यानेडा र हङकङको बजारबाट  आएको प्रस्तावलाई केही दिनमा फाइनल गरिदैछ  । 

करिब ४ करोडको लागतमा निर्मित महाभोजलाई दिनेश राउतले निर्देशन गरेका हुन । जसमा दयाहाङ राई सहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मलिका महत, बुद्धी तामाङ जस्ता लोकप्रिय कलाकार मुख्य भूमिकामा छन । फिल्म आउँने जेठ १५ गते देखि प्रर्दशन हुँदैछ जसको ट्रेलर दुई दिन अघि सार्वजनिक भएको थियो ।

हाल सम्म ट्रेलरलाई पाँच लाख प्लस दर्शकले हेरिसकेका छन । जसमा एक हजार भन्दा बढी कमेन्ट छन जसमा अधिकाँश दर्शकले फिल्म प्रति सकारात्मक प्रतिक्रिया दिएका छन । 

 

डायस्पोरा बजारको अपेक्षित डिमान्ड, फिल्मममा देखिएको प्रभु बैंक सहितका केही ब्रान्ड आएको रकम र डिजिटल रेभिन्यूलाई जोड्ने हो भने महाभोजलाई लगानी उठाउँन हलबाट त्यति हम्मे नपर्ने देखिन्छ ।