दुर्लभ संयोगमा बनेको होस्टेल- ३ लाई डेढ सय शो : जेनेरेशन जेड स्टार बन्ने अवसर

अनुप भट्टराई

काठमाडौं – युवा दर्शकमाँझ सुपरहिट बनेको फिल्म ‘होस्टेल’ शृंखलाको तेस्रो भाग ‘होस्टेल ३’ यहि शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । निर्देशकदेखि निर्माता र मुख्य कलाकार सम्म ९९ प्रतिशत नयाँ अनुहार समेटिएको यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ स्टारहरू जन्माउने अपेक्षा गरिएको छ ।

हालैका महिनाहरूमा चर्चित कलाकारहरूको फिल्महरूले अपेक्षाकृत व्यापार गर्न नसकेको परिवेशमा, ‘होस्टेल ३’ ले बक्स अफिसमा नयाँ ऊर्जा थप्ने सम्भावना देखाएएको छ। युवा दर्शकहरूलाई केन्द्रमा राखेर बनाइएको यो फिल्मले जेनेरेशन जेडले भोगेका कथालाई पस्किदैछ ।

फिल्मका निर्देशक शासन कडेल

सशान कडेलको डेब्यू निर्देशनमा बनेको ‘होस्टेल ३’ मा मुख्य भूमिकामा रहेका सबै कलाकार नयाँ अनुहार हुन । यस फिल्ममार्फत आशिष घिमिरे (माग्ने बुढाका छोरा), पारस बम (कुलब्वाई), रिहान गिरि, सिम्रन पन्त, पदम तामाङ , हेना नगरकोटी र समा पराजुलीले फिल्मी दुनियाँमा पाइला चाल्दैछन् । यस्तो संयोग वा सेटिङ नेपाली फिल्ममा कमै मात्रामा हुने गर्दछ जहाँ निर्देशक देखि मुख्य कलाकार सहित निर्माता देखि स्क्रिप्ट राईटर सम्म नयाँ छन । 

निर्माता तर्फ सुरेश कँडेल, कर्ण कार्की, र गोविन्द अधिकारी,  शंकर कोइराला शिशिर ज्ञवाली, कुन्दन गुप्ता, र अनिश सिग्देल पनि नयाँ लगानीकर्ता हुन । फिल्ममा पूराना देखिरहेको अनुहारमा प्रविण खतिवडा छन जो होस्टेल वार्डेनको भूमिकामा छन । त्यसैगरी आशिष पुरुष र सन्तोष बानियालाई पनि नयाँ अनुहारका रुपमा लिन पर्दछ जसले पहिलो पटक फिल्म खेलेका हुन । यसैगरी स्किृष्ट राईटिङमा माधव शर्माको पनि यो पहिलो पूर्ण लेखन रहेको फिल्म हो । 

‘होस्टेल’ ब्रान्ड सधैं नयाँ कलाकार जन्माउने प्लेटफर्म रहँदै आएको छ । यस्तै सेटिङमा बनेको होस्टेलको पहिलो भागले अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, र गौरव पहारीलाई स्टार बनाएको थियो भने दोस्रो भागले स्वस्तिमा खड्का, सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला र अभय बराललाई फिल्म नगरीमा मज्जाले भित्रायो र तेस्रो भागले पनि यही परम्परा कायम राख्दै, सामाजिक सञ्जालमा चर्चित रहेका नयाँ अनुहारहरुलाई फिल्मी दुनियाँमा डेब्यू गराउँदैछ ।


तसर्थ , नेपाली फिल्म उद्योगमा लामो समयपछि युवा दर्शक लक्षित फिल्म आएको भन्दै सामाजिक सञ्जालमा एक किसिमको छुट्टै बज देखिएको छ । यदि ‘होस्टेल ३’ ले राम्रो व्यापार गर्यो भने, नेपाली सिने नगरीमा नयाँ पुस्ताका कलाकारहरूको बलियो इन्ट्री हुनेछ ।

शुक्रवारदेखि रिलिज हुने अन्तिम तयारीमा रहेको ‘होस्टेल ३’ को अग्रिम बुकिङ पनि उच्च सोका साथ खुलिसकेको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठूलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब डेढसय शो पाउँदै अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार भोलि दिउँसो सम्म  करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् ।

हलहरूले पनि उत्साहपूर्वक उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस फिल्मको ओपनिङको सुखद हुन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मको लगानी सवा दुई करोड मात्र रहेकाले एभरेज विजनेश गरेमा पनि फिल्म ब्रेकईभनमा जान सक्ने प्रवल सम्भावना देख्छौँ हामी ।