काठमाडौं । हरेक हप्ता नेपाली सिनेमाघरमा नयाँ फिल्महरू रिलिज भइरहेका हुन्छन्। दर्शकलाई फिल्मको जानकारी दिने र प्रचार-प्रसारको लागि फिल्मकर्मी तथा कलाकारहरू सामाजिक सञ्जालमा सम्बन्धित फिल्मका पोस्टरहरू शेयर गर्दै शुभकामना आदान-प्रदान गर्ने गर्छन्। यो परम्परा जव देखि सामाजिक सञ्जालमा सेलिब्रेटीहरु जोडिन थाले तव देखि चल्दै आएको हो । अन्य निर्माताहरूका फिल्म रिलिज हुँदा शुभकामना दिने र आफ्नो फिल्मको पालो आउँदा त्यस्तै आशा गर्ने चलन फिल्म उद्योगमा एउटा ‘ऐंचो पैंचो’ जस्तै बनिसकेको छ।
तर, बेला बेलामा केही फिल्ममेकर तथा कलाकारहरूले एउटै मितिमा प्रदर्शनमा आउने फिल्महरूमध्ये केहीलाई मात्र प्राथमिकता दिने, केहीलाई भने बेवास्ता गर्ने जस्ता क्रियाकलापले दर्शकहरूबीच असन्तुष्टि पैदा गर्ने गर्छ। कोहीले कलाकारहरूको नाम छुटाउँदा विवादमा तानिन्छन् भने, कोहीले एउटै समयमा रिलिज भएका सबै फिल्मको पोस्टर समेट्न नसक्दा दर्शकको प्रश्नको सामना गर्नुपर्छ। पूजार सार्की रिलिज हुँदा दीपकराज गिरीले पल शाहको नाम छुटाएर अन्य कलाकारहरुको मात्र नाम लेख्दै शुभकामना दिएपछि दीपकराजले पल शाहलाई माईनस गर्न खोजेको भनेर पल शाहका फ्यानहरुले तीब्र असन्तुष्टी जनाएका थिए र यस्तै दृश्य निर्देशक निश्चल बस्नेत र हाँस्यकलाकार सुमन कार्कीको सामाजिक सञ्जालमा देखिएपछि दर्शकहरु आक्रोशित भएका छन् ।
गए राति कीर्तिपुर स्थित कीर्तिपुर सिनेप्लक्समा मायावी फिल्मको प्रिमियर सो भईरहदा निर्देशक निश्चल बस्नेतले घरबाट आफ्नो फेसकबुकको टाइमलाइनमा बुकिङ खुल्यो है, दुवै फिल्म राम्रो होलान जस्तो छ तपाईहरु पहिला कुन हेर्ने ? भन्दै फेरी रेशम फिलिली र लाज शरणमको मात्र पोष्टर पोष्टाएपछि दर्शकले मायावीलाई किन माईनस गरेको भन्दै निश्चल माथि खनिएका छन । केहीले गाली गरेका छन भने केहीले मायावी पनि आउँदैछ त्यो पनि लेख्नुस भन्दै निश्चललाई सुझाव दिएका छन । सिधा भन्ने हो भने पल शाह र मायावी समर्थित फ्यानहरुले निश्चललाई अभद्र रुपमा गाली पनि गरिरहेका छन ।
यसैगरी आज बिहान हाँस्य कलाकार सुमन कार्कीले पनि फेसबुकमा निश्चलकै स्टाइलमा रोजी रोजी समय मिलाएर हेर्नुपर्छ है दुवै फिल्म भनेर फेरी रेशम फिलिली र लाज शरणमलाई मात्र शुभकामना दिएपछि उनको पोष्टको कमेन्ट सेक्सनमा पनि दर्शकले तिब्र असन्तुष्टी जनाएका छन ।
भोलि देखि सँगै रिलिज हुँन लागेका तीन फिल्म मध्ये मायावीलाई पाखा लगाएपछि जापान फुकुओका बस्ने एक दर्शकले फिल्म त अर्को पनि छ नि, तिम्रो दिमागमै अटेन कि मनमा भन्दै प्रश्न गर्दै सवैको लगानी र अस्तित्व लाई स्वीकार गरौँ, भनेर सुमनको पोष्टमा कमेन्ट गरेका छन । यस्ता प्रश्नहरु धेरै आएपछि सुमनले तीन पटक आफ्नो पोष्ट ईडिट गर्दै मायावीको पोष्टर थप्न बाध्य भएका छन भने निश्चलको पोष्टमा भने केही परिवर्तन आएको छैन ।