खगेन्द्र र आँचललाई लिएर शिव रेग्मीकी भान्जीले फिल्म बनाउँदै

काठमाडौँ ।  कालजयी फिल्महरु दिएका दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छन्।

न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी एकताले आफ्नो पहिलो फिचर फिल्म हर्ष घोषणा गर्दै प्रमुख कलाकारहरूको लाइनअप पनि सार्वजनिक गरेकी छन्।

यसअघि केही छोटा फिल्महरू निर्माण गर्दै फिल्म मेकिङको अनुभव बटुलेकी एकताको निर्देशनमा बन्न लागेको हर्ष मा लोकप्रिय अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ।

ई प्राइम मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी हिक्मत चोखल (चितवन)ले लिएका छन्। फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरको भूमिकामा रहनेछन्।

हाललाई मुख्य कलाकार खगेन्द्र र आँचल मात्र फाइनल भएका छन्, अन्य कलाकारको घोषणा केही समयपछि गरिने निर्माण पक्षले जनाएको छ।

शिव रेग्मीका थुप्रै फिल्महरू आज पनि दर्शकमाझ लोकप्रिय छन्। उनकी जेठी छोरी भावना रेग्मीले सो सिम्पल फिल्ममा अभिनय गरे पनि बुबाको निधनपछि उनको फिल्मी करिअर अघि बढ्न सकेन। तर, भान्जी एकताले हर्ष निर्देशन गर्दै रेग्मी परिवारमा पुनः फिल्मी माहोल सिर्जना गर्ने निर्णय नेपाली फिल्म उद्योगका लागि पनि हर्षको बिषय बनेको छ ।