राजेश हमाल र सरोज खनालको ३२ वर्षपछि सहकार्य: ‘नरसिंहाः अवतार’ मा पूरानो गीतको रिमेक

काठमाण्डौँ । नेपाली फिल्म उद्योगका दुई दिग्गज अभिनेता राजेश हमाल र सरोज खनाल ३२ वर्षपछि एकैसाथ फिल्ममा देखिने भएका छन् ।

हाल छायाँकनरत फिल्म नरसिंहा-अवतारमा हमाल र खनालले २८ बर्ष अघि बनेको फिल्म दैव संजोगको लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ को रिमेक भर्सनमा ठूम्का लगाएको अवस्थामा भेटिए ।

दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्मको गीतको चार दिन लगाएर काठमाण्डौँको जरसिहं पौवामा सुटिङ भईरहदा उनीहरुले मिडिया सम्बोधनका क्रममा ३२ बर्षपछि पुनः काम गर्ने अवसर जुरेको बताए । ३२ बर्ष अघि उनीहरुले  परिभाषा नामक फिल्ममा काम गरेका थिए ।  

गीतको भिडियोमा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, र सनिषा भट्टराईको धमाकेदार नृत्य देख्न पाइनेछ। हमाल र कटुवाललाई कर्नेलको भूमिकामा देख्न पाइनेछ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दना को स्वर रहेको थियो भने नयाँ भर्सनमा शम्भुजित बाँस्कोटा र रचना रिमाल ले आवाज दिएका छन्। गीतको कोरियोग्राफी   कविराज गहतराजले गरेका छन्। निर्देशक भट्टराईका अनुसार गीतको भिडियो निर्माणमा करिब १५ लाख रुपैयाँ खर्च गरिएको छ। अभिनेता हमालले “यो गीतले मलाई विगतमा फर्काएको अनुभूति गरायो” भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे। 

‘नरसिंहाः अवतार’ बाट राजेश हमाल ८ वर्षपछि फिल्मी पर्दामा फर्किन लागेका छन्। दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका हमाललाई फेरि ठूलो पर्दामा हेर्न पाउनु नेपाली सिनेमाका लागि विशेष क्षण बन्नेछ। फिल्म चैत्र २९ गते बाट प्रदर्शनमा आउने तयारीमा छ।