परानको औपचारिक निर्माण घोषणा : केकी अधिकारीको पनि ईन्ट्री

काठमाण्डौँ । लोकप्रिय सिरियल सक्कीगोनीको कलाकार दीपक आचार्य काकुको डेब्यू निर्देशनमा बन्ने फिल्म परानको औपचारिक रुपमा निर्माण घोषणा भएको छ ।

बुधबार अपरान्ह काठमाण्डौंको ठमेलमा रहेको लफ्ट होटलमा आयोजित कार्यक्रममा फिल्मको काष्ट एण्ड क्रुका बारेमा जानकारी दिदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला , निशा अधिकारी, दिनेश डिसी , अशोक शर्मा , कृष्ण मल्ल लगायत व्यापारिक घरानाका चिरपरिचित व्यक्तित्वहरुको उपस्थिती फिल्म निर्माणको उद्धेश्यको बारेमा जानकारी गराईयो ।

यो फिल्ममा नीर शाह प्रमुख भूमिकामा रहने छन । ऐतिहासिक फिल्म प्रेमपिण्ड पछि नीर शाहको सवै भन्दा पावरफूल फिल्मका रुपमा परान रहने बुझिएको छ ।

शाह सँगै समकालिन अभिनेता मदनकृष्ण श्रेष्ठ र सुभाष गजुरेललाई पनि यस फिल्मा देख्न पाईने छ । शाहको जोडी बनेर अभिनेत्री पूजा चन्द खेल्ने बताईएको छ । उनी केही दिनमै यो फिल्म खेल्न अमेरिका देखि नेपाल आउँदैछिन ।

यसैगरी अभिनेत्रीका रुपमा यो फिल्ममा अञ्जना बराइली सँगै केकी अधिकारीको पनि ईन्ट्री भएको छ । यस अघि निर्माण टिमले केकीको कुरा बाहिर ल्याएको थिएन । पोखरामा छायाँकनरत फिल्म महाभोजको सुटिङमा भएका कारण अञ्जना पनि कार्यक्रममा उपस्थित थिईनन ।

फिल्ममा अर्का अभिनेताको रुपमा  प्रविण खतिवडा र महेश त्रिपाठी रहने छन भने बुद्धी तामाङ, मदनकृष्णका छोरा यमन र निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य बाल कलाकारका रुपमा देखिने छन ।

फिल्मको छायाँकन फाल्गुनको पहिलो साता देखि धनकुटामा हुनेछ । ‘हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपाली पन बोकेको फिल्म बनाउँने छौँ ।’  प्रिज्मा एडभटाईजिङका प्रमुख समेत रहेका यस फिल्मका निर्माता रन्जित आचार्यको भनाई थियो ।

रञ्जित र व्यवसायी शेखर गोल्छा मिलेर यो फिल्म निर्माण गर्दैछन । बाइस्कोप सिनेमा प्रस्तुती भन्दै बन्न लागेको  फिल्मलाई शिवराम श्रेष्ठले छायाँकन गर्ने छन भने सम्पादन मित्र देव गुरुङ र रंग संयोजन सुप्रिम पराजुलीले गर्ने जनाईएको छ ।

कार्यक्रममा महानायक राजेश हमालले धैर्यता बोकेर यो क्षेत्रमा लागिरहनु भनेर निर्माण टिमलाई शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डिसीले यो चलचित्र रिलिज भैसक्दा निर्माता ज्यूले रियल टाईम बक्स अफिश हेर्न पाउँने प्रतिबद्धता गरेका छन ।