काठमाण्डौँ । अभिनेता दीलिप रायमाझीको छोरी दिव्याले डेब्यू गर्न लागेको फिल्म एक्टरको तीन वटा नयाँ पोष्टर सार्वजनिक भएको छ ।
आईतबार सार्वजनिक तीन नयाँ पोष्टर मध्ये एक पोष्टरमा दिव्या सहित अर्की अभिनेत्री आना शर्मा र प्रदीप खड्कालाई सुन्दर तरिकाले देखाईएको छ । उक्त पोष्टरमा दुई हिरोइनले प्रदीपको कान निमोठेको भाव रोचक तरिकाले प्रस्तुत गरिएको छ । यस्तै अन्य एक पोष्टरमा आना र प्रदीप मात्र रोमान्टिक मुडमा देखिएका छन भने अर्कोमा दिव्या र प्रदीप मात्र छन ।

आगामी कार्तिक १५ गते देखि प्रर्दशनमा आउँने एक्टर टिमले यस अघि प्रदीप खड्काको विभिन्न ५ वटा क्यारेक्टर देखाउँदै सिंगल पोष्टर रिलिज गरेको थियो । उक्त पोष्टरले खासै राम्रो प्रतिक्रिया पाएको थिएन । तर सार्वजनिक नयाँ पोष्टरले केही चर्चा पाउँने छनक भने देखाउँछ ।

सात बर्ष अघि पण्डित बाजेको लौरी नामक सुन्दर फिल्म निर्माण गरेका थमन कुमार भण्डारी एक्टरका मुख्य निर्माता हुन । फिल्मलाई नव निर्देशक राजन भुषालले निर्देशन गरेका हुन । यो फिल्ममा प्रदीप, दिव्या, आनाका अलावा राजबल्लभ कोइराला, उषा रजक, सुशिल सिटौला, दिव्य देव सहित नयाँ कलाकार रुपमा सुप्रज्ञा शर्मा र एरिका केसी देखिदैछन ।


News Filmy Newsportal / Nepal