काठमाडौं । ठूलो लगानी र चर्चित कलाकारहरूको जमघटका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ।
छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले कलाकार टोलीमा प्रशान्त ताम्राकार र इभा गिरीलाई थपेको छ। छायांकनको १४औँ दिनमा उनीहरू सेटमा जोडिएको निर्देशक वसन्त निरौलाले जानकारी दिए।
गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको यस फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा छन्। साथै, दीपाश्री निरौला र जनी गुरुङ महिला मुख्य पात्रका रूपमा देखिनेछन्।
‘पाँच पाण्डव’ शीर्षक भए पनि फिल्म पौराणिक नभई सामाजिक कथामा आधारित रहेको लेखक सुशील पौडेलले बताएका छन्। फिल्मले महाभारतका पात्रहरूको बिम्बमार्फत समकालीन समाजको कथा प्रस्तुत गर्नेछ।
निर्देशक निरौलाका अनुसार ४० दिनको छायांकन तालिका रहेको फिल्मका अधिकांश दृश्य झापाका विभिन्न स्थानमा खिचिनेछन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरिरहेकी छन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। छायांकन श्याम तामाङले गरिरहेका छन्।
निर्माण पक्षका अनुसार फिल्ममा अत्याधुनिक ‘डोल्बी एट्मस’ साउन्ड प्रयोग गरिनेछ, जसका कारण प्राविधिक रूपमा पनि फिल्म विशेष रहने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal