काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।
नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका हुन् । यस फिल्मलाई थापा स्वयंले निर्देशन गर्नेछन् ।
आगामी सोमबारदेखि चितवनका विभिन्न स्थानमा फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रिय रूपमा चर्चित फिल्म ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् ।
अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।
यो फिल्ममा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले ल्हामो र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।
फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही रहेका छन् । फिल्मलाई अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले खिच्नेछन् ।
फिल्ममा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मेवारी लिएको यो फिल्म सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।
शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने संकेत गर्छ । अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँ फिल्मले नेपाली दर्शकलाई फरक स्वाद र नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।
News Filmy Newsportal / Nepal