काठमाडौं । यहि माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्म रिलिज गर्नेछन्।
ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए।
काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि फिल्मले स्वदेश तथा विदेशमा राम्रो चर्चा बटुलिरहेको छ। छोटो समयमै युट्युब ट्रेन्डिङमा पर्न सफल ट्रेलरले करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ।
निर्देशक दिनेश राउतले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्ना लागि सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह फिल्म हलसम्म पुग्ने विश्वास व्यक्त गरे।फिल्म ‘कुमारी’ बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।
फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ चर्चामा छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। फिल्मका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ भने संगीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको रहेको छ।
News Filmy Newsportal / Nepal