काठमाडौं । सुदिप्ताको डेब्यु निर्देशन फिल्म ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोकाको कथालाई प्रस्तुत गरेको छ। ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ।
फिल्मकी निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’ लाई लभस्टोरीभन्दा पनि ब्रेकअप स्टोरीका रूपमा दर्शकमाझ चिनाउन चाहेको बताइन्। नेपाली फिल्ममा प्रायः हिरोको दृष्टिकोणबाट प्रेमकथा प्रस्तुत हुँदै आएको उल्लेख गर्दै उनले यस फिल्ममा महिलाको परिप्रेक्ष्यबाट कथा भनिएको बताइन्। ब्रेकअपपछि एउटी युवतीको मानसिक अवस्था, उसले भोग्ने संघर्ष र अनुभूतिलाई फरक ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ।
अभिनेत्री आना शर्माले यो कथामा आफूलाई अफर आएपछि करिब ६ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफूलाई तयार पारेको बताइन्। यता मुख्य अभिनेता धिरज मगरले पछिल्लो समय हिरो–सेन्ट्रिकभन्दा पनि महिला पात्रको माध्यमबाट भनिने कथामा बढी काम गरिरहेको बताउँदै ‘रमिताको पिरती’ त्यही धारको फिल्म भएको उल्लेख गरे। दर्शकले आफूलाई फरक अवतारमा हेर्ने चाहना यो फिल्मले पूरा गर्ने उनको दाबी छ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन्। ब्रेकअप स्टोरीमा आधारित यस फिल्मले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।
सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामालगायत कलाकारको अभिनय रहेको छ। सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, सुवास कोइराला सह–निर्माता तथा निर्देशक छन् भने सागर लम्साल निर्माता छन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ। शिशिर विश्वंखेको डीओपी रहेको फिल्मको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ।
काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal