‘पाँच पाण्डव’मा डल्बी एट्मस साउन्ड, दर्शकले पाउनेछन् नयाँ साउन्ड अनुभव

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले हालै नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।

 

‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो नेपाली फिल्म बन्ने भएको छ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एट्मस प्रविधिमा गरिने जानकारी दिएको छ।

 

“हामीले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेका छौँ,” फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “हामी दर्शकलाई साउन्डको फरक स्वादसहित प्राविधिक रूपमा पनि अब्बल फिल्म दिनेछौँ ।”

 

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता भइसकेको उनले जानकारी दिए । सम्झौता कार्यक्रममा ‘पाँच पाण्डव’ का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिति रहेको थियो ।

 

साउन्डमा जस्तै अन्य कुनै पनि पक्षमा पनि आफूले फिल्म निर्माणमा सम्झौता नगर्ने नवीन श्रेष्ठले बताएका छन्।फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त सम्पन्न भइसकेको छ । वसन्त निरौलाको निर्देशनमा बन्ने यस फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, सागर लम्साल (बले) लगायत कलाकारहरूको अभिनय रहनेछ ।

 

फिल्म नाम अनुसार धार्मिक विषयमा मात्र सीमित नभई सोसल ड्रामा हुने निर्माणपक्षले स्पष्ट पारेको छ ।‘पाँच पाण्डव’का महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् ।

 

काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित फिल्म ‘प्रसाद’का लेखक समेत हुन् ।

 

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने यस फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् । केही महिनाभित्र छायाङ्कन सुरु गरिने फिल्मका प्रोडक्सन म्यानेजर दिलिप पन्त रहेका छन् ।

Leave a Reply