काठमाडौं। माघ २३ गते रिलिज हुने वर्षकै बहुप्रतीक्षित नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’को ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम नेपाली फिल्म इतिहासमै ट्रेलर सार्वजनिक गर्ने सबैभन्दा ठूलो र ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित भएको छ।
खुला आकाशमुनि हजारौँ दर्शकमाझ ट्रेलर सार्वजनिक गर्नु आफ्नो सपना पूरा भएको निर्देशक दिनेश राउतले बताएका छन्। उनले दर्शकको उत्साहले फिल्म हलसम्म पनि राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकबाट प्राप्त माया र समर्थनले नेपाली फिल्म क्षेत्रमा अझ सक्रिय रहने प्रेरणा मिलेको बताए।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो। साथै ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ ब्यान्डले पनि सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। सांगीतिक कन्सर्ट र फिल्म प्रमोशनको संयोजनले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
फिल्म ‘कुमारी’मार्फत डेब्यु गरेका कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले दर्शकको मायाले आफूहरू अत्यन्तै भावुक र उत्साहित भएको प्रतिक्रिया दिए। हजारौँ दर्शकको ताली र समर्थनले उनीहरूलाई विशेष ऊर्जा दिएको उनीहरूले बताए।
सार्वजनिक ट्रेलरले संवेदनशील, रोमाञ्चक र भावनात्मक प्रेमकथाको झलक प्रस्तुत गरेको छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, सामाजिक दबाब, रोमान्स र मनोवैज्ञानिक द्वन्द्वलाई प्रभावशाली ढङ्गले चित्रण गरिएको छ।
अबिषेक खड्काद्वारा अभिनीत पुरुष पात्र संवेदनशील, भावनात्मक र परिस्थितिले थिचिएको युवकका रूपमा प्रस्तुत भएका छन्। मौन अभिनय, आँखाको भाव र हाउभाउमार्फत प्रेमको पीडा र असहायपन सशक्त रूपमा देखाइएको छ।
त्यस्तै, आकृति राजभण्डारीले आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा महिला पात्र प्रस्तुत गरेकी छन्। ट्रेलरले ‘कुमारी’ केवल हेर्ने मात्र होइन, महसुस गर्नुपर्ने फिल्म भएको संकेत दिन्छ।
फिल्मको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी, संवाद तथा दृश्य संयोजन ट्रेलरमै प्रभावशाली देखिएको छ। शाहिल खानद्वारा सम्पादित ट्रेलर युट्युबमा ट्रेन्डिङमा पुगेको छ। कार्यक्रममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री थिन्ले ल्हामोले कलाकारहरूलाई शुभकामना दिएका थिए।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथात्मक फिल्म निर्देशन गरेका दिनेश राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयका फिल्म निर्देशनपछि पुनः प्रेमकथामा फर्किएका छन्।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘कुमारी’ विकास सुवेदीद्वारा लिखित हो। फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।
छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।
यसअघि सार्वजनिक भएका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतहरूले व्यापक लोकप्रियता हासिल गरिसकेका छन्। ‘डोको बुन्ने’ गीतले ५० लाखभन्दा बढी भ्युज पाएको खुसीयालीमा ट्रेलर सार्वजनिक कार्यक्रममा केक काटेर उत्सव मनाइएको थियो। सबै गीतमा स्वर केहर सिंह लिम्बुको रहेको छ भने सङ्गीत सुमन तामाङको छ।
अब दर्शकको नजर माघ २३ गते रिलिज हुने नेपाली फिल्म ‘कुमारी’ तर्फ केन्द्रित भएको छ।
News Filmy Newsportal / Nepal