काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’ का लागि मुख्य कलाकार अनुबन्ध गरिएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीलाई अनुबन्ध गरेको हो ।
निर्देशक सरोज पौडेलसँग यी दुई कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरू सरोज पौडेलकै निर्देशनमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा देखिएका थिए, जसले नेपाली बक्स अफिसमा झण्डै ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै कीर्तिमान बनाएको थियो।
‘पूर्णबहादुरको सारङ्गी’ सफल भएपछि निर्देशक पौडेल ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित भएका थिए । सो फिल्ममा गन्धर्व परिवारको कथा, बुबा–छोराबीचको सम्बन्ध र शैक्षिक संघर्षलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको थियो ।
उक्त फिल्म विजय बरालको करियरको टर्निङ पोइन्ट बनेको थियो । उनले मुख्य भूमिका निभाएका थिए भने अञ्जना बराइली उनकी श्रीमतीको भूमिकामा देखिएकी थिइन् ।
नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ मा पनि यही जोडी दोहोरिनु दर्शकमाझ चासोको विषय बनेको छ । निर्देशक पौडेलले कलाकार छनोट बजारलाई ध्यानमा राखेर नभई कथाको आवश्यकताअनुसार गरिएको स्पष्ट पारेका छन् ।
“विजय र अञ्जना अहिले चर्चित कलाकार हुन् । तर, हामीले बजारका लागि होइन, कथाले मागेपछि उनीहरूलाई अनुबन्ध गरेका हौँ,” निर्देशक पौडेलले भने ।
फिल्ममा अन्य कलाकारहरू क्रमशः अनुबन्ध गरिँदै जाने जानकारी पनि उनले दिएका छन् ।
“अब चरित्र सुहाउँदा कलाकार छनोट गरेर केही समयमै बाँकी काम अघि बढाउँछौँ,” उनको भनाइ छ ।सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंको हो । आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
फिल्मको रिलिज मितिबारे भने हालसम्म निर्माण टिमले जानकारी सार्वजनिक गरेको छैन ।५० करोडको कीर्तिमान बनाएको टिम पुनः एकसाथ आउन लागेपछि फिल्म ‘सिन्दुरे जात्रा’ लाई लिएर दर्शकमाझ उत्साह बढेको छ ।
News Filmy Newsportal / Nepal