काठमाडौं । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको झलक सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र बदलाको त्रिकोणात्मक कथालाई प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि ट्रेलर अघि बढ्दै जाँदा पात्रहरूबीचको धोका र त्यसले उत्पन्न गराएको मानसिक तनाव (साइकोलोजिकल डिस्ट्रेस) लाई प्रमुखता दिइएको छ। फिल्मको ट्रेलरले दर्शकमाझ कौतुहलता र ‘सस्पेन्स’ सिर्जना गर्न सफल देखिएको छ।
यो फिल्म बलिराम चौहानको डेब्यु निर्देशन हो। फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता चल्तीका कलाकारहरूको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मालाई पनि ट्रेलरमा देख्न सकिन्छ।
आगामी माघ १६ गते देखि प्रदर्शनमा आउन लागेको यस फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो। अभिनेत्री बेनिशा हमाल र छायाकार नरेन्द्र मैनाली कार्यकारी निर्माता हुन्।नरेन्द्र मैनालीकै छायांकन रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक र रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।
फिल्ममा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माताका रूपमा छन्।भिजुअल र रङ संयोजन (कलर ग्रेडिङ) ले फिल्मलाई थप रहस्यमयी बनाएको छ, जसले गर्दा थ्रिलर विधाका दर्शकका लागि यो फिल्म रुचिकर हुने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal