काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा भव्य सांगीतिक कन्सर्ट सम्पन्न गरेको छ। फिल्मको प्रचारप्रसारका लागि आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
होटल स्टार लाइटको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डले सांगीतिक माहौल तताएका थिए। गायक केहरले फिल्मको बहुचर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ सँगै ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरे। सोही क्रममा कलाकार अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य देखाउँदा दर्शकको उल्लेख्य साथ पाएका थिए।
निर्देशक दिनेश राउतले ‘कुमारी’ मार्फत आफूले उत्कृष्ट ‘लभ स्टोरी’ पस्कने कोसिस गरेको बताए। “मैले सधैँ दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म बनाउने गरेको छु, कुमारीले पनि दर्शकलाई निराश बनाउने छैन,” उनले भने।
नेपालगन्जबाट सुरु भएको यो सांगीतिक टुर अब देशका अन्य प्रमुख सहरहरूमा पनि पुग्नेछ। निर्माण पक्षका अनुसार आगामी कार्यक्रमहरूको तालिका यसप्रकार छ माघ ३ गते: पोखरा माघ ६ गते: चितवन माघ १० गते: काठमाडौं (भृकुटीमण्डप) माघ १७ गते: दमक, झापाकाठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा फिल्मको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा केहर सिं लिम्बुको स्वर र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।
News Filmy Newsportal / Nepal