रघुजी फिल्म्सले ल्याउने भयो दुई फिल्म, ‘कालकट्टी’ को छायांकन माघ अन्तिमदेखि

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा दुई नयाँ फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका यी फिल्महरूलाई निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्नेछन्।

निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै दुवै फिल्म विसं. २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। सञ्चारकर्मी रघुनाथ सापकोटा र निर्देशक अमरदीप सापकोटाको सहकार्यमा यी दुई फरक स्वादका कथाहरू पर्दामा आउन लागेका हुन्।

घोषित दुई फिल्ममध्ये ‘कालकट्टी’ को छायांकन आगामी माघ महिनाको अन्त्यतिरबाट सुरु हुनेछ। हाल कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको निर्माता रघुनाथ सापकोटाले जानकारी दिए। यो फिल्मको छायांकन सकिएलगतै ‘काकाको बिहे’ को काम सुरु हुने निर्माण पक्षले जनाएको छ।

‘कालकट्टी’ को कथा, पटकथा र संवाद निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन्। फिल्ममा निसाल पौडेलको छायांकन र भीम बिष्टको संगीत रहनेछ। फिल्मलाई नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ।

लामो समयदेखि सिनेमा निर्माणको योजनामा रहेका सापकोटा द्वयले पोस्टरमार्फत फिल्मको पहिलो झलक सार्वजनिक गरेसँगै फिल्मप्रेमीहरूमाझ उत्सुकता बढेको छ। निर्माण टिमले छिट्टै टिजर र कलाकारहरूको विस्तृत नामावली सार्वजनिक गर्ने बताएको छ।

Leave a Reply