काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म (अप्रिल २–६, २०२६) आयोजना हुने भएको छ ।
नवौँ संस्करणमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । पाँच दिने महोत्सवमा दर्शकले फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एआई प्रविधिबाट निर्माण गरिएका चलचित्र हेर्नुका साथै स्वदेशी–विदेशी चलचित्रकर्मीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।
‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै यस संस्करणमा विशेषतः युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्र छनोट गरिएको निफले जनाएको छ ।निफका अध्यक्ष केपी पाठकका अनुसार यसपटक महोत्सवलाई युवा–मैत्री बनाउने प्रयास गरिएको छ । “युवा केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । युवा मेकरलाई प्रोत्साहन गर्न एआई फिल्म मेकिङ कार्यशाला लगायतका सेसन पनि राखिएका छन्,” उनले भने, “चलचित्रमार्फत् युवामा आशा जगाउनु हाम्रो मुख्य उद्देश्य हो ।”
यस वर्ष ८० भन्दा बढी देशबाट ८०० भन्दा बढी चलचित्रले महोत्सवमा सहभागिताका लागि आवेदन दिएको निफले जनाएको छ । तीमध्ये उत्कृष्ट र युवा दर्शकको चासोका आधारमा ८८ चलचित्र छनोट गरिएको महोत्सव चलचित्र छनोट समितिले जनाएको छ ।
“अघिल्ला संस्करणको तुलनामा यो पटक सबैभन्दा बढी चलचित्र आवेदन प्राप्त भएको छ,” अध्यक्ष पाठकले भने, “यसले अन्तर्राष्ट्रिय फिल्म समुदायमा निफप्रतिको विश्वास बढेको देखाउँछ ।”छनोट भएका चलचित्रहरू विश्वका प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, शाङ्घाई, लोकार्नो, बुसान, गोवा लगायतका अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेका तथा अवार्ड प्राप्त फिल्महरू रहेको निफले जनाएको छ ।
गत जुनमा आवेदन खुलाइएको निफ सुरुमा फागुन २१ देखि आयोजना गर्ने घोषणा गरिएको थियो । तर, फागुनमा आम निर्वाचन तय भएकाले सुरक्षा, यातायात र जनसहभागितालाई ध्यानमा राख्दै महोत्सवको मिति एक महिना पछाडि सारिएको अध्यक्ष पाठकले बताए ।
यी विधामा प्रदान गरिनेछ अवार्ड
निफको शीर्ष अवार्ड ‘गौतम बुद्ध अवार्ड’ (सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म) विजेताले १ हजार ५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट राष्ट्रिय फिचर फिल्म : १ लाख रुपैयाँ र ट्रफी
डकुमेन्ट्री विधा (माउन्ट एभरेस्ट अवार्ड) : १ हजार अमेरिकी डलर र ट्रफी
सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर फिल्म : ५ सय अमेरिकी डलर र ट्रफी
एआई फिल्म (मञ्जुश्री अवार्ड) : ५ सय अमेरिकी डलर र ट्रफी
अन्तर्राष्ट्रिय विद्यार्थी सर्ट फिल्म : ट्रफी
सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म : ५० हजार रुपैयाँ र ट्रफी
सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री : ५० हजार रुपैयाँ र ट्रफी
त्यसैगरी राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक र छायाँकारलाई ट्रफी प्रदान गरिनेछ ।
News Filmy Newsportal / Nepal