काठमाडौं । फिल्म वितरक रोहित कट्टेल पहिलोपटक फिल्म निर्माणमा आएका छन्। वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक कट्टेल फिल्म ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्।
लामो समयदेखि फिल्म वितरण गर्दै आएका कट्टेलले कथाले छोएपछि निर्माणमा सहकार्य गरेको बताएका छन्। निर्देशक यम शेर्पाले सुनाएको कथाले आफूलाई आकर्षित गरेपछि लगानी गर्ने निर्णय लिएको उनको भनाइ छ।
“निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो फिल्म हो।
निर्देशक यम शेर्पाले कथा सुनाउँदा नै मलाई मन पर्यो,” कट्टेल भन्छन्, “राम्रो कथामा आधारित फिल्म निर्माणका लागि प्रस्ताव आउँदा सहकार्य नगर्ने कारण देखिनँ।”
बाबु र छोरीबीचको भावनात्मक कथाले आफूलाई गहिरो रूपमा छोएको उनले बताए। “यो हामी सबै नेपालीको कथा हो, घर–घरको कथा हो,” उनी भन्छन्, “धेरै नेपालीले भोगेको र देखेको यथार्थ भएकाले कथा सुन्नासाथ मन परेको हो।”
राम्रो कथामा आधारित फिल्म निर्माणका लागि आफू सधैँ तयार रहेको कट्टेलको भनाइ छ। कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो फिल्म दर्शकमाझ पुर्याउनु आफ्नो दायित्वसमेत भएको उनले बताए।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
News Filmy Newsportal / Nepal