काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब ४२ दिन लगाएर फिल्मको मुख्य हिस्सा खिचिएको हो।
मंसिर १५ गतेदेखि सुरु भएको छायांकन तालिका हिमाली जिल्लाको अत्यधिक चिसोका बाबजुद निर्धारित समयमै सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए। “हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, ४२ दिनमा म्याग्दीको काम सक्यौं,” पौडेलले भने, “विशेषगरी रात्रिकालीन दृश्य खिच्दा चिसोले प्राविधिक टोलीलाई निकै सास्ती दियो, तर गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं।”
जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको यो फिल्म पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित छ। फिल्मले विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘प्रथम हुनैपर्ने’ मानसिकताले पार्ने प्रभावलाई उधिन्ने कोसिस गरेको छ। गत वर्ष सार्वजनिक पोस्टरमा एक बालकले कक्षाकोठामा हात उठाइरहेको दृश्यले पनि धेरैको ध्यान खिचेको थियो।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मीको मुख्य भूमिका छ। म्याग्दीको छायांकन सकेर फर्किएको टोलीले केही दिनको आरामपछि काठमाडौंमा बाँकी दृश्य खिच्ने तयारी गरेको छ।
निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। छायांकन र पोस्ट–प्रोडक्सनको सबै काम सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने तयारी छ।
News Filmy Newsportal / Nepal