प्रदर्शनको ७५ औं दिनमा ‘परान’: दर्शकलाई टिकटमा ७५ रुपैयाँ छुट

काठमाडौं । बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरिरहेको फिल्म ‘परान’ ले प्रदर्शनको ७५ औं दिन पूरा गरेको छ। सोही अवसरमा निर्माण पक्षले दर्शकका लागि विशेष छुटको घोषणा गरेको छ।

निर्माता रन्जित आचार्यका अनुसार फिल्म हेर्न छुटाएका दर्शकलाई लक्षित गर्दै केही दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरिएको हो। यो छुटको लाभ लिन दर्शकले ‘खल्ती’ एपमार्फत टिकट काट्नुपर्नेछ, जहाँ ७५ रुपैयाँ ‘क्यासब्याक’ प्राप्त हुनेछ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ‘परान’ ले गत शनिबार (७२ औं दिन) सम्म १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। ७५ औं दिनमा आइपुग्दा पनि फिल्मले काठमाडौंका हलहरूमा सुखद शो पाइरहेको छ।

प्रदर्शनको खुसियाली मनाउन मंगलबार साँझ निर्माण टिमले सिटी सेन्टर (सिटी स्क्वायर) मा दर्शकहरूसँगै केक काटेर ‘सेलिब्रेसन’ समेत गरेको छ।

दीपकप्रसाद आचार्य (काकु) को निर्देशन र कथामा बनेको यो फिल्मलाई प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले निर्माण गरेको हो। फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको जम्बो टोलीले अभिनय गरेको छ।

Leave a Reply