काठमाडौं । आगामी माघ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिरमिरे’ को ट्रेलरमा एक बाल कलाकारको अभिनयले यतिबेला चर्चा पाएको छ। फिल्ममा अभिनेता दयाहाङ राईको छोरीको भूमिकामा देखिएकी शाइसा गौचनले ट्रेलरमा दयाहाङसँगै समानान्तर (प्यारालल) रूपमा स्क्रीन स्पेश पाएकी छन्।
आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा शाइसाको अभिनय मर्मस्पर्शी देखिएको छ। सानैमा आमाले छोडेर गएपछि बुबाको लालनपालनमा हुर्किएकी छोरीको रूपमा उनलाई ट्रेलरमा देख्न सकिन्छ।
पोखराकी शाइसाका लागि ‘मिरमिरे’ डेब्यु फिल्म भने होइन। उनले यसअघि ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ मा छोटो भूमिकामा अभिनय गरिसकेकी छन्। संयोगवश, ती दुवै फिल्ममा पनि उनले दयाहाङसँगै काम गरेकी थिइन्।
निर्देशक यम शेर्पा भन्छन्: “शाइसाले यसअघि पनि दया दाइसँग काम गरेकाले सुटिङ सेटमा सहज भयो। उनीहरूबीचको पुरानो घुलमिलले गर्दा बाबु–छोरीको सम्बन्ध पर्दामा निकै जीवन्त देखिएको छ। शाइसाको कामलाई सबै उमेर समूहका दर्शकले मन पराउनेमा म ढुक्क छु।”
यार्सा फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, भोलाराज सापकोटा, विमल यादव लगायतको अभिनय छ।: निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाले फिल्म निर्माण गरेका हुन्। वितरक रोहित कट्टेल यसका कार्यकारी निर्माता हुन्।आरआर फिल्म्सले फिल्मलाई देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’ माघ १ गतेको प्रतिक्षित फिल्ममध्ये एक हो।
News Filmy Newsportal / Nepal