दयाहाङ र विजयसँग काम गर्न पाउँदा चुनौती र सिकाइ दुवै भयो: समृद्धि अर्याल

काठमाडौँ। नायिका समृद्धि अर्यालले आफू सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन्। उनको उपस्थिति महत्त्वपूर्ण स्थान र समयमा हुने र यसले सिनेमाका मुख्य दुई पात्रहरूलाई प्रभाव पार्ने खालको रहेको उनले बताएकी हुन्।

“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु।”

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको बताइन्। “विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,” उनी भन्छिन्, “केरा लागि यो सिनेमा सिक्ने मौका बन्यो।”

सुरुमा सिनेमाका लागि अफर आउँदा दयाहाङ र विजय जस्ता अग्रज कलाकारहरूसँग काम गर्न सक्छु वा सक्दिनँ भन्ने संकोच भए पनि पछि यसलाई काम सिक्ने मौकाको रूपमा स्वीकार गरेको उनको भनाइ छ। पहिलो सिनेमा ‘फर्की फर्की’मा नयाँ कलाकारहरूसँग काम गर्दा सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने संकोच र सिकाई दुवै भएको उनले बताइन्।

उनको दाबी छ कि सिनेमामा उनी शो पिस मात्रै नरहेको र दुई अग्रज कलाकारको बीचमा उनको पनि राम्रो र महत्वपूर्ण भूमिका रहेको छ। “बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,” कुशुमको क्यारेक्टरमा देखिने समृद्धि थप्छिन्।

उनको सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने विश्वास छ। “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ,” उनी भन्छिन्।

सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ। सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यो सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् भने कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्।

मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ। यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।