‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।

खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि फिल्मको ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको हेपाइमा परेको महसुस गर्ने विजय र आफूले ढुंगा–बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङबीचको नोकझोक ट्रेलरमा देख्न सकिन्छ ।

दयाहाङ अगाडि–पछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा देखिन्छन् । जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो नलागोस् भन्ने दयाहाङको ढिट शैली ट्रेलरमा झल्किएको छ ।

आफ्नो झोलामा खोलाको मालिक बनेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयबीचको संघर्ष ट्रेलरमा प्रस्तुत गरिएको छ । स्तर उकास्न खोज्ने र स्तर कायम राख्न खोज्ने दुई पात्रबीचको द्वन्द्व ट्रेलरमा रोचक बनेको छ ।

फिल्ममा वरिष्ठको भूमिकामा दयाहाङ र बलरामको भूमिकामा विजय देखिएका छन् । ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने तयारीमा छ ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे रहेका छन् भने लाइन प्रोड्युसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनले छायांकन गरेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ ।

फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।