काठमाडौं। फिल्म ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। यी दुई कलाकार प्रायः धेरै फिल्ममा सँगै देखिन्छन्। हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’ सम्म उनीहरू सह–कलाकारको रूपमा देखिँदै आएका छन्। यही जोडी फेरि ‘वरिष्ठ बलराम’मा पुनः भेटिएको छ।
फिल्मका पोस्टर, मोसन पोस्टर र टिजरमा दुवै कलाकारलाई समान स्पेसमा देखाइएको छ। उनीहरूबीच आपसी नोकझोक र प्रतिस्पर्धा झल्किने दृश्यहरू देखिएका छन्। केही समयअघि सार्वजनिक भएको ‘न्यौली बनैमा’ बोलको गीतमा भने विजय बराल र समृद्धि अर्यालको जोडी प्रस्तुत गरिएको छ, जसमा दयाहाङ राईको उपस्थिति छैन। यस कारणले फिल्मको मुख्य पात्र को हो भन्ने जिज्ञासा बढाएको छ।
लिगेसीका हिसाबले दयाहाङ राई मुख्य भूमिकामा हुने सम्भावना धेरै देखिए पनि पछिल्लो समय विजय बराल पनि लगातार मुख्य पात्रका रूपमा देखिँदै आएका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ सफल भएपछि विजयको माग बढेको छ।
फिल्मको शीर्षक ‘वरिष्ठ बलराम’ भएकोले मुख्य पात्रको नाम बलराम हुन सक्ने अनुमान गरिएको छ। तर बलराम नाम मंगोल समुदायमा कम देखिने भएकाले पात्रको समुदाय र पृष्ठभूमिबारे पनि दर्शकमा कौतुहलता बढेको छ।
निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेको यो फिल्म कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्। मनकृष्ण महर्जनले छायांकन, प्रशान्त शिवाकोटीले संगीत, सम्राट बस्नेतले एक्सन निर्देशन र प्रदीप लामाले नृत्य निर्देशन गरेका छन्।
यो फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal