काठमाडौं। असोज १३ गते दशैंको फूलपाती बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो।
अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।
सेन्सर बोर्डमा फिल्म अवलोकनपछि कथावस्तु, प्रस्तुति र कलाकारबारे छलफल भएको थियो। समितिका सदस्यहरूले लामो समयपछि उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको भन्दै प्रशंसा गरेको निर्माणपक्षले जनाएको छ।
निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने विश्वास व्यक्त गरेका छन्।
फिल्मको बुकिङ खुलेको छ र देशभरका हलमा करिब सयभन्दा बढी शो सुनिश्चित भइसकेका छन्। केही हलमा अझै शो खुल्न बाँकी छ। बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलमा शो तोकिएको छ, जसले दर्शकको उत्साह झल्काउँछ।
यसअघि सार्वजनिक गरिएको ट्रेलर र शीर्ष गीतले फिल्मप्रति दर्शकको ध्यान आकर्षित गरिसकेको छ।
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ।
रामशरण पाठकले लेखेको कथावस्तु पारिवारिक र भावनात्मक पृष्ठभूमिमा आधारित छ, जसले बलियो वर्ड अफ माउथ सिर्जना गर्ने अपेक्षा गरिएको छ।
