अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुने

काठमाडौं। असोज १३ गते दशैँको फूलपातीको दिन नेपालमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ। अमेरिकामा यस फिल्मलाई आहाना पौडेलले वितरण गर्न लागेका छन्। यो उनको फिल्म वितरणमा डेब्यु हो। आहान नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् र पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका छन्।

हरिवंश आचार्य स्टारर यस फिल्मलाई आहानले त्यहाँको बक्स अफिसमा रिलिज गर्ने तयारी पूरा गरिसकेको जनाइएको छ। आहानको वितरण कम्पनी फिल्म इन्टरटेनमेन्ट एलएलसी मार्फत फिल्मलाई अमेरिकाभरका ८० पर्दामा रिलिज गर्न लागिएको हो।

यसअन्तर्गत टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विस्कन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाहलगायतका सहर र राज्यमा फिल्म प्रदर्शन हुनेछन्। त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज जस्ता प्रमुख चेन हलमा रिलिजको तयारी भैरहेको आहानले जानकारी दिएका छन्।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यस फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देवलगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply