´जारी २` कार्तिक ६ गते रिलिज हुने

काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । फिल्मको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरेको छ ।

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ । दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा फिल्मले कथा पस्कने बुझ्न सकिन्छ । यी पोस्टरले पर्दामा एउटा अद्भुत कथा प्रस्तुत हुने सहज अनुमान गर्न सकिन्छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् । फिल्ममा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

कवि सुब्बाको डेब्यु निर्देशकिय फिल्म ‘जारी’ २०८० सालको ब्लकबस्टर फिल्म हो । सो वर्ष यसले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै ‘जारी २’ लाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।

Leave a Reply