काठमाण्डौ । दक्षिण कोरियाली साइकोलोजिकल थ्रिलर फिल्म ‘न्वाइज’ (Noise) नेपालका विभिन्न सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ। राखी मोशन पिक्चर्सद्वारा वितरण गरिएको फिल्मले नेपाली दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
किम सू-जिनको निर्देशनमा बनेको फिल्म दुई दिदीबहिनी जू–योङ (ली सुन-बिन) र जू–ही (हान सू-आ) को कथा वरिपरि केन्द्रित छ। नयाँ अपार्टमेन्टमा सरेपछि जू–ही अचानक हराएपछि सुरु हुने रहस्यमय घटनाक्रमले दर्शकलाई मनोवैज्ञानिक त्रास र थ्रिलको अनुभव दिन्छ।
जू–हीको प्रेमी कि–हून (किम मिन-सोक) र अन्य पात्रहरूले रहस्य सुल्झाउने क्रममा कथाले गहिरो मोड लिन्छ। फिल्मको कथा, साउन्ड डिजाइन, सम्पादन र सस्पेन्सपूर्ण निर्माणशैलीलाई दर्शकले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।
फिल्म नेपालमा रिलिज भएकोमा कलाकारहरूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।
अभिनेत्री ली सुन-बिन ले भनिन्,
“न्वाइज नेपालका हलहरूमा प्रदर्शन हुनु हाम्रो टिमका लागि गौरवको कुरा हो। यहाँका दर्शकहरूले देखाएको माया र समर्थनप्रति म आभारी छु।”
हान सू-आ ले पनि प्रतिक्रिया दिँदै भनिन्,
“नेपालमा हाम्रो फिल्म रिलिज हुनु र दर्शकले मन पराउनु निकै उत्साहजनक अनुभव हो। यसले हामीलाई थप उर्जा दिएको छ।”
५०४ नम्बरको रहस्यमय पुरुषको भूमिका निभाएका र्यू क्योङ-सू ले भने,
“नेपालका दर्शकको मायाले हाम्रो टिमलाई निकै प्रेरणा दिएको छ। आशा छ, तपाईंहरूले पनि फिल्म हेरेर रमाइलो अनुभव लिनुहुनेछ।”
किम मिन-सोक, जसले फिल्ममा कि–हूनको भूमिका निभाएका छन्, भन्छन्,
“नेपालका दर्शकबाट यति राम्रो प्रतिक्रिया पाउँदा हामी धेरै खुसी छौं। ‘न्वाइज’ तपाईंहरूका लागि नयाँ अनुभव हुनेछ।”
फिल्म भदौ १३ गतेदेखि देशभरका प्रमुख सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। काठमाडौं, पोखरा, बुटवल, धरान, चितवन लगायतका शहरमा फिल्म हेर्न सकिन्छ।
दर्शकहरूले खल्ती, सिनेप्लेक्स, IME Pay जस्ता अनलाइन माध्यमबाट टिकट बुकिङ गर्न सक्नेछन्।
फिल्म समीक्षकहरूका अनुसार ‘न्वाइज’ ले नेपाली दर्शकलाई फरक स्वादको थ्रिलर अनुभव दिइरहेको छ। रहस्य र सस्पेन्स मन पराउने दर्शकका लागि फिल्म एक उत्कृष्ट विकल्प बन्नसक्ने अनुमान गरिएको छ।
टिकट बुकिङका लागि लिङ्क: यहाँ क्लिक गर्नुहोस्
noise.ektukra.com
News Filmy Newsportal / Nepal