काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ आउँदो दशैंको फूलपाती ९असोज १३ गते० देखि देशभर प्रदर्शनमा आउने भएको छ।
फिल्ममा हरिवंश आचार्यको लोकप्रिय टेलिभिजन पात्र हरिबहादुरलाई सिनेमाटिक ढाँचामा प्रस्तुत गरिएको छ। दशकौँअघिदेखि नेपाली दर्शकमाझ परिचित उक्त पात्र पहिलोपटक ठूला पर्दामा देखिन लागेकाले फिल्मप्रति विशेष उत्साह देखिएको छ।
फिल्मको सार्वजनिक पोस्टर, टिजर र गीतहरूले दर्शकमाझ उल्लेखनीय चासो आकर्षित गरेका छन्।
दुई हप्ता अघि सार्वजनिक गरिएको ‘बेला बितेसी’ गीतलाई युट्युबमा २६ लाखभन्दा बढी पटक हेरिएको छ भने २ लाख ५० हजारभन्दा बढी टिकटक भिडियो निर्माण भएका छन्।
त्यसैगरी, ‘ढाका टोपी शिरैमा’ बोलको गीत ३ दिनमै १० लाखभन्दा बढी पटक हेरिएको छ।
सामाजिक सञ्जालमा गीतका क्लिपहरू भाइरल भइरहेका छन्, जसले प्रचारमा सकारात्मक प्रभाव पारेको छ।
हरिवंश आचार्य स्वयंले लेखनमा संलग्न फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, दिव्य देवलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्म एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।
सरोज ओली र मोहितबंश आचार्य निर्माता रहेको फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नकुल खड्काको सम्पादन रहेको छ।
संगीततर्फ वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले संगीत भरेका छन् भने आशिस अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर रहेको छ।
फिल्म पारिवारिक र रमाइलो शैलीमा निर्माण भएको बताइएको छ। दशैंको पारिवारिक वातावरणमा यस किसिमको फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।