काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर बुधबार नयाँ फिल्म ‘पारस’को घोषणा गरिएको छ। फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँले गर्नेछन्।
सचिन लदियाले लेखन गरेको यस फिल्मको छायांकन फागुनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’मा सहकार्य गरिसकेका छन्। ‘पारस’ उनीहरूको तेस्रो संयुक्त काम हो। निर्माता बिशालको पनि यो टिमसँग तेस्रो सहकार्य हुनेछ।
केपी फिल्म्सको ब्यानरमा बन्ने फिल्मको घोषणा बुधबार साँझ कालोपुल नजिकको एक पार्टी प्यालेसमा गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक कृषाले ‘पारस’ एक्सनसहित लभ स्टोरी हुने जानकारी दिइन्। उनले भनिन्, “सचिन लदिया पहिलो पटक नेपाल आएका बेला नै यो फिल्मको लेखन सुरु भएको हो। अहिले विस्तृत जानकारी दिन सक्दिनँ, तर कलाकार र प्राविधिक टिमको बारेमा बिस्तारै जानकारी दिनेछु।”
निर्माता बिशाल चौलागाइँले दिदीको जन्मदिनमै फिल्म निर्माणको योजना सार्वजनिक गरेको बताए। उनले भने, “पिताम्बरमा भएका कमजोरीलाई यस फिल्ममा सुधार्नेछौँ।”
कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामना दिंदै नयाँ फिल्मको सफलताको शुभेच्छा दिएका थिए।
फिल्मको रिलिज मिति भने अझै घोषणा गरिएको छैन। कृषाको पहिलो निर्देशन ‘ऐचो पैचो’ समिक्षात्मक रूपमा सफल मानिएको थियो।