‘रिमै’को भव्य प्रिमियर, दर्शकको सकारात्मक प्रतिक्रिया

 

काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्ध्यामा भव्य प्रिमियर सम्पन्न भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो।

प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो। फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभूषामा देखिएका थिए। प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका कलाकार र सेलिब्रिटीहरूको उपस्थिति थियो।

फिल्म हेरेपछि अभिनेता बाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने फिल्म बनेको प्रतिक्रिया दिए। गुरुङ समुदायमाथि अहिलेसम्म बनेका फिल्ममध्ये यो उत्कृष्ट भएको उनको भनाइ थियो। त्यस्तै, अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि फिल्म निकै राम्रो बनेको भन्दै सबै समुदायका दर्शकलाई फिल्म हेर्न आग्रह गरे।

फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरुङले करिब ८ वर्षपछि पर्दामा फर्किन पाउँदा उत्साहित भएको बताइन्। अमेरिकामा बसोबास गर्दै आएकी उनले प्रिमियरमा फिल्म हेर्दा आफ्ना पुराना सम्झना ताजा भएको अनुभव सुनाइन्। उनले भनिन्, “लामो समयपछि काजी र मैंयाको जोडी पुनः पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ।”

निर्देशक खिलबहादुर गुरुङले ३ वर्षको मेहनतपछि तयार भएको फिल्म ‘रिमै’लाई प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाले व्यापारमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङसहित बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले पटकथा लेखन गरेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन्।

दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई सहायक निर्देशन, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङ सम्पादनमा रहेका छन्। फिल्म ‘रिमै’ भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।