काठमाडौं। फिल्म ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा आयोजना गरिएको शुभ मुहूर्तपछि पाटन क्षेत्रबाट छायाङ्कनको सुरुवात गरिएको हो। शुभ मुहूर्तमा मुख्य कलाकार, निर्देशक तथा निर्माण टोलीको उपस्थिति थियो।
दिनेश राउतले निर्देशन गरिरहेको यो फिल्म ३५ दिनभित्र छायाङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारलगायतका कलाकारले पनि अभिनय गर्नेछन्।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा महेन्द्र अधिकारीले निर्माण गरिरहेको फिल्ममा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि सार्वजनिक गरिएको गीत ‘कता छौ’ चर्चामा रहँदै आएको छ, जसलाई गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड केहर एन्ड द लुङ्गा ले प्रस्तुत गरेका थिए। लिम्बुले यसै फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन्।
फिल्मको संगीततर्फ केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान रहेको छ भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। छायाङ्कन निर्देशक सुसन प्रजापति, कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, रङ्ग संयोजन सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपाने, कोरियोग्राफी किरण थापा तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट० का रहनेछन्।
निर्देशक राउतले यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सफल प्रेमकथा फिल्म निर्देशन गरेका थिए भने ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा आधारित फिल्म पनि दिएका थिए। ‘कुमारी’ मार्फत उनले फेरि प्रेमकथामा फर्किएको संकेत गरेका छन्।