काठमाडौं । दुई दिनअघि टुँडिखेलमा घोषणा गरिएको नेपाली फिल्म ‘कुमारी’को गीत ‘कहाँ छौ’ इन्टरनेटमा सार्वजनिक गरिएको छ। घोषणा कार्यक्रममा ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ।
दिनेश राउतको निर्देशनमा बन्ने प्रेमकथानक फिल्ममा अबिशेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकाबाट डेब्यु गरेका छन्। उनीहरुसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछानेलगायत कलाकारको अभिनय रहनेछ।
बिनिश इन्टरटेन्मेन्टको निर्माण तथा पिक्चर फ्रेमको सह–निर्माणमा तयार भइरहेको फिल्ममा चार गीत रहने छन्। अन्य गीतमा प्रशान्त सिवाकोटीको सङ्गीत र सागर लामिछाने मगर, सुमन तामाङ तथा युवराज काफ्लेले शब्द लेख्नेछन्।
फिल्म यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। यसको डिजिटल वितरण केन्द्र मोशन पिक्चर्स, उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले गर्नेछन्।
News Filmy Newsportal / Nepal