काठमाडौं । यहि भदौ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ प्रचारप्रसारमा व्यस्त छ । निर्माण पक्षले आयोजना गरेको पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले फिल्म गुरुङ समुदायको बलियो दस्तावेज हुने दाबी गरे ।
उनका अनुसार भोलिका पुस्ताले गुरुङ संस्कार–संस्कृति बुझ्नुपर्यो भने ‘रिमै’ सशक्त प्रमाण बन्नेछ । “गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदाय बुझ्नुपर्ने भए यो फिल्म गतिलो दस्तावेज हुनेछ,” दयाहाङले भने ।
फिल्मकी अभिनेत्री रिश्मा गुरुङले गुरुङ जातिमा छोरीको भूमिकालाई विशेष स्थान रहेको भन्दै त्यसलाई फिल्ममा प्रस्ट देखाइएको बताइन् । “छोरा नभए पनि अन्तिम संस्कार गर्न सकिन्छ, तर छोरी नभएसम्म शव उठाउनै मिल्दैन,” उनले भनिन् ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङलगायतको अभिनय छ । फिल्मको निर्देशन खिल बहादुर गुरुङले गरेका हुन् भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।