काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’को घोषणा गरेका छन्। राजधानीको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको हो। सो कार्यक्रममा प्रमुख कलाकारका रूपमा अबिशेक खड्का र आकृति राजभन्डारी प्रस्तुत गरिए।
गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो। लिम्बुले यसै फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।
‘आइ एम सरी’बाट निर्देशन सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथामा आधारित फिल्मका लागि परिचित छन्। पछिल्ला वर्षमा उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा आधारित फिल्म निर्देशन गरेका थिए। दर्शकको मागअनुसार फेरि प्रेमकथामा फर्किएको उनले बताए। ‘कुमारी’को निर्माण ‘पुजार सार्की’ भन्दा अघि नै सुरु गरिएको भए पनि विभिन्न कारणले ढिलाइ भएको र अहिले छायाङ्कनमा जान लागेको उनले स्पष्ट पारे।
फिल्म बिनिश इन्टरटेन्मेन्टले निर्माण गर्दैछ भने पिक्चर फ्रेम सहकार्यमा रहेको छ। निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका हुन्। फिल्ममा अबिशेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मका गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले संगीत दिनेछन्। सबै गीतमा केहरकै स्वर रहनेछ। शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले डिजाइन गरेका हुन् भने पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन्।
फिल्मको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना निर्माण टिमले जनाएको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्नेछन्।
फिल्ममा छायाङ्कन निर्देशन सुसन प्रजापतिको रहनेछ। कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, अन–स्क्रिन कविता रिया अधिकारी, रङ संयोजन सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपाने र कोरियोग्राफी किरण थापाले गर्नेछन्।
पब्लिसिटी डिजाइन रोयल भिमसेनको रहनेछ भने मिडिया तथा पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ रहनेछन्। सहायक निर्देशनमा तर्कराज न्यौपाने, राजेश राज गिरी र आयुष दाहाल रहनेछन्।