काठमाडौं । फिल्म शिवांश : च्याप्टर–१ आगामी कात्तिक २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्दै उक्त दिनबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
यस अवसरमा कैलाश पर्वतमा भगवान् शिव र उनका वाहन साँढे अंकित पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा जटाधारी शिवलाई कैलाश पर्वततर्फ उक्लँदै गरेको देखाइएको छ भने साँढेको निधारमा त्रिशूल अंकित गरिएको छ । यसको अर्थ र फिल्मसँगको सम्बन्धबारे भने निर्माण पक्षले जानकारी खुलाएको छैन।
पोखरा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म यतिबेला पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा तयार भएको यस फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । फिल्मका निर्माता अञ्जान केसी हुन् ।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । यस्तै विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायत कलाकारको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार पारेका हुन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती संलग्न छन् ।
फिल्मका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने कार्यकारी निर्माता सम्भू थापा हुन् । डीओपीमा सरद महतो रहेका छन् । विप्लव प्रतीक र राजनराज शिवाकोटीले गीत लेखेका छन् । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले तयार पारेका हुन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले दिएका छन् ।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठले, कोरियोग्राफी विक्रम चोहानले र भीएफएक्स निर्देशन विराज खड्काले गरेका छन् । भीएफएक्स सुपरभिजन आदेश सुब्बा (गुडरेज पिक्चर्स)ले गरेका छन् ।
फिल्ममा बारत लिम्बू मुख्य सहायक निर्देशक, प्रतीक चौधरी आर्ट डाइरेक्टर तथा प्रोडक्सन डिजाइनर, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू मेकअप आर्टिस्ट र युवाहाङ राई पोस्टर फोटोग्राफरका रूपमा संलग्न छन्।
फिल्म चौतारीले पोस्ट–प्रोडक्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।
News Filmy Newsportal / Nepal
