काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को बिहीबार तनहुँस्थित गलेश्वर मन्दिरमा विधिवत् शुभमुहूर्त गरिएको छ। करिब दुई सय जना बटुकले हवनसहित पूजाआर्चना गरी मुहूर्त सम्पन्न गरेका हुन्।
निर्माणपक्षका अनुसार सोही दिनदेखि फिल्मको छायांकन चितवनबाट सुरु भएको छ। निर्देशक चन्द्र पन्तका भनाइमा करिब एक महिनासम्म चल्ने छायांकन चितवन, काठमाडौं र भारतको हैदरावादमा हुनेछ।
फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त र उषा उप्रेतीलगायत मुख्य कलाकार देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट र माओत्से गुरुङको पनि उपस्थिति थियो।
‘आ बाट आमा’ आमा–सन्तानबीचको स्नेह र सम्बन्धलाई केन्द्रीत कथा रहेको निर्माणपक्षले जनाएको छ। फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। छायांकन निर्देशन नवराज उप्रेतीले गर्नेछन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहनेछन्। कुलदीप शर्मा मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्।
फिल्म २०८२ फागुन १५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। यसका अष्ट्रेलिया र न्यूजिल्यान्ड प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ भने नेपालमा वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।