काठमाडौं । अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ को पाँचवटा पोस्टर एकसाथ सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म अब कार्तिक ६ गते, भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने भएको हो।
फिल्मको कार्यकारी निर्माताका रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ, जुन धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको सामाजिक अभियान समूह हो।
निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित यस फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका कलाकारहरूको अभिनय छ।
फिल्मको कथावस्तुलाई झल्काउने गरी सार्वजनिक गरिएको पाँचवटा पोस्टरमध्ये एकमा नायक–नायिकाको रोमान्टिक दृश्य प्रस्तुत गरिएको छ भने अर्कोमा नायिका लिम्बु परम्परागत भेषभूषामा सजिएको देखिन्छिन्।
तेस्रो पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक–नायिका देखिन्छन्, जसले गाउँको सौन्दर्य र सरल जीवनशैली झल्काउँछ।
एक पोस्टरमा लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको झल्को पाइन्छ।
पाँचौँ पोस्टर सामूहिक रूपमा अन्य पात्रहरू सहितको दृश्यमा केन्द्रित छ।
निर्देशक सुवेदीले फिल्मले समाजमा व्याप्त जातीय विभेद र अमानवीय व्यवहारविरुद्ध सशक्त सन्देश दिने दाबी गरेका छन्। साथै, दुई प्रमुख पात्रबीचको प्रेमकथा फिल्मको मुख्य केन्द्रमा रहेको उनले बताए।
फिल्मको छायाङ्कन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानहरूमा गरिएको हो।
फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्।
पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिष्ट र संसार चौलागाईं हुन्।
रोशन चौलागाईं, वसन्त कटुवाल र सुजन अधिकारी सह–निर्माताका रूपमा आवद्ध छन्।
फिल्मको पोस्टर तथा प्रचार सामग्री रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेका हुन्।
नेपालभर फिल्म वितरणको जिम्मा टि फल्क्स फिल्म्सले लिएको छ भने डिजिटल स्ट्रीमिङ अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
News Filmy Newsportal / Nepal