काठमाडौं । असार २७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले आफ्नो प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । उक्त अवसरमा फिल्मको टिमले शुक्रबार बालाजुस्थित अष्टनारायण हलमा विशेष कार्यक्रम आयोजना गरी केक काटेर सेलिब्रेसन गरेको हो ।
कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले दर्शकलाई जबर्जस्ती टिकट काटाएर ल्याउने प्रवृत्ति नगरेको स्पष्ट पारेका छन् । उनले भने, “जति दर्शक आउनुहुन्छ स्वतःस्फूर्त टिकट काटेर आएका हुन् । फिल्मको प्रचार–प्रसार खासै भएन होला, तर ५१ औँ दिन पार गरेकोमा हामी खुशी छौं ।”
उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार राजकुमार राई, रबिन्द्र खड्का लगायतका फिल्मकर्मीहरूको उपस्थिति थियो । सो अवसरमा फिल्मको टिम र सञ्चारकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
‘यो मन त मेरो नेपाली हो’ फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङ प्रमुख भूमिकामा देखिएका छन् । ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान र रोशन श्रेष्ठ हुन् । मित्र प्रधानको कथा तथा निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्म हाल अमेरिकाका विभिन्न शहरमा पनि प्रदर्शन भइरहेको छ ।
यसै क्रममा ‘यो मन त मेरो नेपाली हो’ टिमले नयाँ फिल्म ‘स्वाह:’ निर्माणको घोषणा गरेको छ । अघोषणसँगै एक पोस्टर पनि सार्वजनिक गरिएको छ ।
मित्र प्रधानकै निर्माण तथा निर्देशन रहने फिल्म ‘स्वाह:’ को पटकथा तथा संवाद शिवम अधिकारीले लेख्नेछन् । यसमा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् भने अन्य कलाकारबारे चाँडै जानकारी दिइने निर्माण टिमले जनाएको छ । हिमाली भेगको कथामा आधारित यो फिल्म करिब ४ करोड रूपैयाँको लगानीमा बन्ने बताइएको छ ।
News Filmy Newsportal / Nepal
