काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा।लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर रहेको छ। गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश छ।
यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर रहेको थियो। निर्माता रोहित अधिकारी र उनको टिमले पुरानो नेपाली फिल्म ‘माइतीघर’ को बहुचर्चित गीतलाई पुनः बजारमा ल्याएका हुन्।
गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। भिडियोको छायांकन मानकृष्ण महर्जन र सुषन प्रजापतिले गरेका हुन् भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
फिल्म असोज १३ गते दशैंको फूलपातीबाट रिलिज हुनेछ। चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा लगायतका कलाकारको अभिनय छ।
साथै, गीतको भिडियो प्रतियोगिताको पनि घोषणा गरिएको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो तयार गर्नेमध्ये एक जना उत्कृष्ट सहभागीलाई ५ लाख नगद पुरस्कार दिइने रोहित अधिकारीले जानकारी दिएका छन्।
News Filmy Newsportal / Nepal