काठमाडौं । निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको चर्चित गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी फिल्ममा समावेश गरिएको हो।
गायक आशिष अविरलको स्वरमा रहेको यस गीतमा परदेशिएका नेपाली युवाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड गायक झलकमान गन्धर्वप्रति श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले गीतलाई पुनः स्वरबद्ध गरिएको निर्माण पक्षले जनाएको छ।
गीतको भिडियोमा कलाकार मुकुन भुसाललाई ‘पूर्णबहादुरको सारङ्गी’मा देखिएको पात्र वीरेको स्वरूपमा प्रस्तुत गरिएको छ। उनले सारङ्गी बजाउँदै गीत गाएको दृश्यमा बालकलाकार अर्नव खड्का पनि देखिएका छन्।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाललगायतका कलाकारको अभिनय छ। निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। चलचित्रको छायांकन बाबु श्रेष्ठले र सम्पादन नहकुल खड्काले गरेका हुन्।
नरदेवी फिल्म्सको प्रस्तुतिमा तयार भएको ‘कोशेढुंगा’ भदौ १२ गते नेपालसहित ४२ भन्दा बढी मुलुकमा एकसाथ प्रदर्शनमा आउँदैछ। यसरी पहिलो पटक नेपाली फिल्म यति धेरै देशमा एकैपटक प्रदर्शन हुन लागेकाले यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal