‘काजी’ फिल्मको शुभमुहूर्त

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’ को शुभमुहूर्त शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासँगै सम्पन्न भएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ।

करिब आठ वर्षपछि यस फिल्ममार्फत निर्देशनमा फर्किन लागेका रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ निर्देशन गरेका थिए। साथै, उनले ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।

आरएन्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने सामाजिक प्रेमकथामा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा लगायत कलाकारको अभिनय रहनेछ। अन्य कलाकारबारे क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

फिल्मलाई राम प्रसाद रिजालले निर्माण गर्दै छन्। उनले यसअघि भएका कमजोरी सच्याएर उत्कृष्ट बनाउन प्रयास गर्ने बताए। स्याङ्जामा विशेष सेट निर्माण गरी छायांकन गरिने यस फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तनराज भण्डारीको छायांकन र कालिप्रसाद बास्कोटाको संगीत रहनेछ। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ।