‘माइतीघर’को शीर्ष गीत ५० लाख खर्चेर छायांकन

काठमाडौं। आगामी असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को प्रचार–प्रसार तीव्र बनाइएको छ। यसै क्रममा फिल्मको शीर्ष गीतको छायांकन सम्पन्न भएको छ।

निर्माता रोहित अधिकारीका अनुसार गीत छायांकनका लागि मात्र ११ दिन खर्चिएको छ। बाग्लुङमा खिचिएका दृश्य प्रयोग नगरी नयाँ शैलीमा सम्पूर्ण भिडियो छायांकन गरिएको अधिकारीले जानकारी दिए। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा प्रमुख कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा सहभागी छन्। कोरसको ठूलो समूहलाई नचाइएकाले खर्च करिब ५० लाख पुगेको निर्माण पक्षले जनाएको छ।

यो ऐतिहासिक महत्व बोकेको गीत भएकाले निर्माणमा कुनै सम्झौता नगरिएको अधिकारीको भनाइ छ। गीत आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ। साथै, उक्त गीतको भिडियोमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउन सफल एक जनालाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरिएको छ।

गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर रहेको छ। मिलन तामाङ निर्देशित फिल्ममा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकले तयार पारेका हुन्। सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको फिल्म रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको हो।